शीर्षकहरू

एटिएममा पैसा अभाव नहुने, बैंकर्स एसोसिएसनका यस्ता छन् थप निर्णय

एटिएममा पैसा अभाव नहुने, बैंकर्स एसोसिएसनका यस्ता छन् थप निर्णय

काठमाडौँ । नेपाल बैंकर्स एसोसिएसनको बुधबार बिहान बसेको भर्चुअल (अनलाईन मार्फत बसेको ) बैठकले केही यो संकटको बेलामा सरकारलाई साथ दिँदै निम्न अनुसारका निर्णयहरु गरेको कुरा सार्वजनिक गरेको छ ।

कुनैपनि एटिएमहरुमा नगदको अभाव हुन नदिन त्यहाँ पैसा हाली राख्ने । यो निर्णयका कारण आम निक्षेपकर्ता ग्राहकको आवश्यकता अनुरुप पैसा निकाल्न पाउने अधिकारको समेत सम्मान हुने समेत एसोसिएसनले जनाएको छ । त्यसैगरी डिजिटल कारोबारलाई सहज बनाउन सो सम्बन्धी जानकारी दिने टेलिफोन र इमेल मार्फत कल सेन्टर संचालन गर्ने पनि सो बैठकले निर्णय गरेको छ ।

अब सबै बैंकका शाखाहरुले कम्तिमा दुई जना सम्पर्क व्यक्तिको नाम सार्वजनिक गर्नु पर्ने र कुनै बिशेष काम वा इमर्जेन्सी भएमा उनीहरुलाई बाहिर निस्कने व्यवस्था स्थानीय प्रशाशनसँगको सहकार्यमा गरिने भएको छ । 

सो बैठकले एटिएम नभएका शाखाहरु हरेक दिन निश्चित समयकोलागी संचालन गर्ने पनि निर्णय भएको छ । 

अन्य अत्यावश्यक सेवाहरु जस्तै एलसी खोल्ने, बस्तु आयातको लागी वा अन्य प्रयोजनको लागी बैंक ग्यारेण्टी लिनुपर्ने र ट्रेजरिको लागि सम्बन्धित बैंकको शाखामा सिधै सम्पर्क गर्न र सेवा लिन सरोकारवालालाई सो बैठकले अपिल गरेको छ । 

एसोसिएसनले एटिएम बुथसम्म सेनिटाईजर लगायतका सुरक्षा सामग्री पुर्याउन र बैकका कर्मचारीका लागी मास्क, सेनिटाईजर, पन्जा लगायतका सामग्री ढुवानीमा सहयोग गर्न स्थानीय प्रशाशनलाई अनुरोध गरेको छ ।

एसोसिएसनले आफ्ना  ग्राहक तथा कर्मचारीको सुरक्षा आफुहरुको प्राथमिक सरोकारको बिषय भएको उल्लेख गर्दै एक जुट भएर सरकारले कोरोना नियन्त्रणका लागी गरेको प्रयत्नमा सहयोग गर्ने जनाएको छ ।