शीर्षकहरू

नेपाल बैंकको ८५ वर्षे यात्रा : सबै पिँढीको साथी, युवा जनशक्तिको साथ

नेपाल बैंकको ८५ वर्षे यात्रा : सबै पिँढीको साथी, युवा जनशक्तिको साथ

इतिहास:
नेपाल बैंक नेपालको पहिलो बैंक हो । जसको स्थापना १९९४ साल कार्तिक ३० गते भएको हो । नेपाल बैंक कानुन- (सन् १९३७) अनुसार स्थापना भएको यो बैंकको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गरेका हुन् । 

सरकार र निजी क्षेत्रको साझेदारी :
नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारी साझेदारीको अवधारणामा स्थापना भएको यस बैंकको पुँजी संरचना सुरुआतमा नेपाल सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत रहेकोमा बिचको अवधिमा उक्त अनुपातमा परिवर्तन हुँदै हाल नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ भने  बैंकको चुक्तापूँजी २०७८ आषाढमा १२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ जुन बैंकको महत्त्वपूर्ण उपलब्धि हो ।

उत्साह जनक वित्तीय परिसूचकहरू :
बैकका वित्तीय परिसूचकहरूले उत्साहजनक नतिजाहरूका साथ बैंकको सफलतालाई देखाएको छ । बैंकको वित्तिय अवस्था तथा उत्कृष्ट कार्यसम्पादनबाट शेयर धनी, व्यवस्थापन एवं सम्पूर्ण सरोकारवाला समक्ष सकारात्मक ऊर्जा प्राप्त भएको छ । विगत २ दशक भन्दा बढी समयसम्म लाभांश वितरण नगरेको यस बैङ्कले  आ.व. २०७६/०७७ देखि लाभांश वितरण गर्न थालिसकेको छ । यसका उत्साहजनक वित्तीय परिसूचकहरूले गर्दा यस बैंक प्रति पुंजीबजारका लगानीकर्ताको आकर्षण बढ्दो छ ।

नेपाल र नेपालीसँगको सम्बन्ध
नेपालमा बैंकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमिका अन्य बैंकसँग तुलना हुनै सक्दैन । ऐतिहासिक पृष्ठभूमिको जगमा उभिएर हालसम्म पनि अनवरत सेवा प्रवाह गर्दै आएको नेपाल बैंक नेपाली माटो र हरेक नेपाली जनसँग प्रगाढ सम्बन्ध गाँसिएको बैंक हो ।

नेपालमा औपचारिक बैंकिङ सेवाको सुरुवात मात्रै नभई नेपालमा स्वदेशी मुद्रा प्रचलनमा ल्याउने श्रेय पनि नेपाल बैंकलाई नै जान्छ । भारु (भारतीय रुपैयाँ) को दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैङ्कले त्यो समयमा खेलेको भूमिकाको जति प्रशंसा गरे पनि कमी हुन्छ ।

बि.स. १९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको नेपाल बैंक हरेक नेपाली जनको हृदयसँग जोडिएको छ । त्यसैले यो बैंक स्थापना भएको साल १९९४ साललाई नेपालको बैंकिङ क्षेत्रको कोशेढुंगाका रूपमा लिइन्छ ।

उद्योग, कृषि, पर्यटन तथा व्यापार व्यवसाय र आय आर्जनका क्षेत्रको विकास एवम् प्रवर्द्धनमा अग्रणी भूमिका खेलेको नेपालको पहिलो बैंक नेपाल बैंक १९९४ सालदेखि हालसम्म अनवरत विश्वासको ८५ औँ वर्षसम्म अटुट रूपमा बैंकिङ सेवा प्रदान गर्न सफल छ । त्यसैले त, यो बैंक र नेपाल/नेपालीबिच अटुट प्रेम छ ।

हिमाल, पहाड, तराई, मधेस जोड्ने बैंक :
नेपाल बैंक हिमाल, पहाड, तराई, मधेसका जनताको आफ्नो बैंक हो । यसले बैंकिङ्ग सेवा मार्फत अटुटरुपमा सेवा प्रदान गर्दै हिमाल, पहाड, तराई, मधेसमा बस्ने सबै जातजाति, भाषा भाषी, समुदाय, सम्प्रदाय, वर्ग लिङ्गका सबै नेपालीलाई जोड्ने सेतुको काम गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व :
यो बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत भूगोल पार्क हरियाली, रक्तदान कार्यक्रम, महिला सशक्तीकरण सम्बन्धी कार्यक्रम, विपन्न वर्ग लक्षित स्वास्थ्य सुधार कार्यक्रम, बाढीपीडित राहत कार्यक्रम लगायत ज्येष्ठ नागरिक सम्मान, असहाय बालबालिकाहरूलाई सहयोग तथा विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुन निर्माणमा सहयोग, कोभिड-१९ को विनाशकारी प्रकोपबाट  सर्वसाधारणलाई जोगाउन सरकारलाई र विभिन्न सङ्घ संस्थाहरूलाई गरेको आर्थिक सहयोगका लगायतका कार्यहरू गर्दै आएको छ ।

युवा जनशक्ति तथा व्यवस्थापन:
हाल बैंकको सबै तहमा दक्ष युवा जनशक्तिको  रहेका छन् जुन बैंकको एक महत्त्वपूर्ण सबल पक्ष हो । हाल बैङ्कमा स्थायी, करार सेवा र ज्यालादारी गरी करिब २३०० कर्मचारी कार्यरत छन् ।

संस्थागत सुशासन :
बैङ्कले असल संस्थागत सुशासन सम्बन्धी मार्गदर्शनहरूको पूर्ण परिपालन गरिआएको छ । सञ्चालक समितिका अध्यक्ष साथै सदस्यहरू तथा कर्मचारीहरूले नेपाल राष्ट्र बैंकबाट तोकिएको आचरण तथा निर्देशन सम्बन्धी व्यवस्थाहरूको पूर्ण परिपालना गरेका छन् । बैंकको आन्तरिक कार्य व्यवस्थापनलाई व्यवस्थित गर्न, संस्थागत सुशासन कायम गर्न र नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउनुका साथै निर्णय समितिको तहमा लेखा परीक्षण समिति, कर्मचारी व्यवस्थापन तथा सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति, कम्प्लायन्स डिभिजन र गर्भनेन्स डिभिजन समेत  स्थापना गरी कार्य व्यवस्थित गरिएको छ ।

धातुको टोकन देखि अत्याधुनिक डिजिटल बैकिङ्गसम्मको यात्रा :
सुरुका दिनमा बैंकको कार्य प्रणाली हेर्दा लेजर बुक, धातुको टोकन माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने, कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिने, रुपैयाँ, पैसा घडामा हैन बैङ्कमा राख्नुपर्छ, ऋण साहुसँग नभई बैंकवाट लिनुपर्छ भनी ग्राहकहरूलाई बैंकिङ्गको कखरा सिकाएको यस बैंक हाल बैंकिङ्ग बजारमा उपलब्ध अत्याधुनिक प्रविधि तथा उपकरणहरुद्धारा सञ्चालित सेवाहरू जसमा भिसा सहित एटिएम, डेबिट कार्ड, क्रेडिट कार्ड, एनिब्रान्च बैंकिङ्ग, मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, विल भुक्तानी सेवा, सार्वजनिक सवारीमा ई-टिकेटिङ्क सेवा लगायतका स्मार्ट बैकिङ्ग सेवाहरू समेत उपलब्ध गराइरहेको छ ।

सबै पिँढीको साथी :
नेपाल बैङ्कले २१ लाख बढी आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ । बालक, युवा, प्रौढ, ज्येष्ठ नागरिक सबैको रोजाई बन्न सफल नेपाल बैङ्कमा दिनप्रतिदिन युवा उद्यमीहरूको आकर्षण बढ्दो छ । उद्यमी, व्यवसायीदेखि सामान्य आर्थिक स्तर भएका नेपाली जनको रोजाई बनेको यो बैङ्कले ग्राहक सेवालाई उच्च प्राथमिकतामा राखेर निरन्तर कर्म गर्दै आएको छ । त्यसैले त, नेपाल बैंक साँच्चै ‘सबै पिँढीको साथी’ बनेको छ ।

नेपाली अर्थतन्त्र विकासका लागि बैङ्कले गरेका प्रतिबद्धता :
बैङ्कले हालसम्म आई पुग्दा नेपाली अर्थतन्त्रको विकासमा अतुलनीय योगदान गरेको छ । यति मात्रै होइन ८५ औँ वार्षिकोत्सवको अवसरमा बैङ्कले थप प्रतिवद्धताहरु पनि गरेको छ । 

देशका सबै वर्ग र क्षेत्रमा वित्तीय सेवाको विस्तार गरी वित्तीय सेवाको पहुँच अभिबृद्घि गर्ने साथै नेपालको आर्थिक विकासको सहयात्री भइरहने प्रतिबद्धता बैङ्कले गरेको छ । यसले हरेक स्थानीय तहका हरेक व्यक्ति वित्तीय रूपमा साक्षर बन्ने, लगानीका अवसरहरू सिर्जना हुने र ग्रामीण अर्थतन्त्रको विकासमा उदाहरणीय योगदान गर्ने बैंकको लक्ष्य छ ।

आर्थिक परिसूचकहरू:

क्र. स.                                        विवरण                                        रकम 
१                                           शेयर  पुँजी                                १२.६४ अर्ब 
२                                      जगेडा तथा कोषहरू                       २१.५ अर्ब
३                                         निक्षेप दायित्व                             १७३ अर्ब
४                                          कर्जा सापटी                              १४८ अर्ब
५                                     खुद व्याज आम्दानी                         ६.४६ अर्ब
६                                        सञ्चालन मुनाफा                          ४.४९ अर्ब
७                                    कर अघिको मुनाफा                         ४.७१ अर्ब
८                                         खुद मुनाफा                               ३.०६ अर्ब
९                                      निष्क्रिय कर्जा                              २.०  (प्रतिशत)
१०                                  पूँजीकोषअनुपात                           १७.९१ ( प्रतिशत)