काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२-०८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा ४७.१२ प्रतिशतले घटेको छ ।
गत आवको तेस्रो त्रैमासमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा १३ करोड ३२ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।
गत वर्षको ९ महिनामा कम्पनीले २ लाख ३३ हजार ३७४ वटा बीमा पोलिसि जारी गर्दा २ अर्ब ९४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले २ लाख १ हजार ८३८ वटा पोलिसि जारी गरेको छ । जसबाट २ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
गत वर्षको ९ महिनामा १ अर्ब १४ करोड रुपैयाँ बढी दाबी भुक्तानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा १ अर्ब २६ करोड रुपैयाँ बढी दाबी भुक्तानी गरेको छ।
कम्पनीको महाविपत्ति कोषको आकार भने सामान्य वृद्धि भएको छ । गत आवको ९ महिनामा २१ करोड ३४ लाख रुपैयाँ रहेको कोषमा चालु आवको सोही अवधिमा २२ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिसम्म कम्पनीले करिब ५ अर्ब ६४ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । जसमध्ये २ अर्ब २६ करोड रुपैयाँ दीर्घकालिन लगानी र ३ अर्ब ६७ करोड अल्पकालीन लगानी रहेको छ ।
२ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेका कम्पनीको प्रति शेयर आम्दानी ६.७७ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ २३३.६४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८९.६३ गुणा र प्रति शेयर कुल सम्पत्तिको मूल्य ५६८.५९ रुपैयाँ रहेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया