काठमाडौँ। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको १० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले चैत २६ गतेदेखि १०० कित्ता बराबर १० कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । यसअनुसार इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता, कुल २३ करोड १० लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गरेको छ ।
हकप्रद प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरेको थियो । त्यसअनुसार फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाउने व्यवस्था छ ।
रेटिङ संस्थाले कम्पनीलाई इक्रा नेपाल इस्यूअर रेटिङ ‘ट्रिपल बी’ प्रदान गरेको छ, जसले मध्यम स्तरको वित्तीय दायित्व बहन क्षमताको संकेत गर्छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएस एन्ड क्लियरिङको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि यो पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।
आर्थिकन्यूज
प्रतिक्रिया