शीर्षकहरू

अस्ट्रेलियामा लाखौँ कामदारको तलब बढ्ने, न्यूनतम ज्यालामा करिब ६ प्रतिशत वृद्धि

अस्ट्रेलियामा लाखौँ कामदारको तलब बढ्ने, न्यूनतम ज्यालामा करिब ६ प्रतिशत वृद्धि

काठमाडौं। अस्ट्रेलियामा लाखौँ कामदारको तलब वृद्धि हुने भएको छ। राष्ट्रिय न्यूनतम ज्याला निर्धारण गर्ने निकायले वार्षिक ज्याला पुनरावलोकनपछि न्यूनतम ज्याला र अवार्ड ज्यालामा वृद्धि गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार आगामी जुलाई १ देखि राष्ट्रिय न्यूनतम ज्याला प्रतिघण्टा २४.९५ अस्ट्रेलियन डलरबाट बढेर २६.४४ अस्ट्रेलियन डलर पुग्नेछ। करिब ५.९ प्रतिशतको यो वृद्धिबाट न्यूनतम ज्याला पाउने झण्डै एक लाख कामदार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

त्यसैगरी विभिन्न उद्योग, व्यवसाय र पेशामा लागू हुने ‘अवार्ड ज्याला’मा ४.७५ प्रतिशत वृद्धि गरिने भएको छ। यस व्यवस्थाबाट करिब २८ लाख कामदार प्रभावित हुने अनुमान गरिएको छ। अवार्ड ज्याला प्रणालीले न्यूनतम पारिश्रमिक, कार्यघण्टा तथा श्रमसम्बन्धी आधारभूत सर्तहरू निर्धारण गर्ने भएकाले यसको प्रभाव अस्ट्रेलियाको श्रम बजारको ठूलो हिस्सामा पर्नेछ।

सरकारले बढ्दो जीवनयापन खर्च र महँगीका कारण कामदारहरूको क्रयशक्ति जोगाउन न्यूनतम ज्याला बढाउन आग्रह गरेको थियो। हाल अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति करिब ४.२ प्रतिशत रहेको छ भने सरकारी प्रक्षेपणअनुसार आगामी महिनाहरूमा यो करिब ५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

ज्याला निर्धारण आयोगले मुद्रास्फीति, जीवनयापन लागत तथा श्रमिकको वास्तविक आम्दानी संरक्षणलाई आधार बनाएर तलब वृद्धि गर्ने निर्णय गरेको जनाएको छ। नयाँ व्यवस्थासँगै न्यून आय भएका कामदारको आम्दानीमा सुधार आउने र बढ्दो खर्चको दबाब केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया