काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँट प्रक्रिया सम्पन्न गरेको छ।
नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुनेछ।
नाइमाका अनुसार पूर्वनिर्धारित तथा पारदर्शी छनोट प्रक्रियामार्फत ४९ ब्रान्डका लागि कुल ४९ स्टल बाँडफाँट गरिएको छ। तीमध्ये २६ स्टल चारपांग्रे सवारीसाधन ब्रान्डलाई तथा २३ स्टल दुईपांग्रे र व्यावसायिक सवारीसाधन ब्रान्डलाई उपलब्ध गराइएको छ।
स्टल बाँडफाँट कार्यक्रममा बोल्दै नाइमा अध्यक्ष रितु सिंह वैद्यले उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले एक्स्पोको महत्व थप पुष्टि गरेको बताइन्। उनले एक्स्पोलाई केवल सवारी प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्य रहेको उल्लेख गरिन्।
उनका अनुसार प्रारम्भिक चरणमै सबै स्टल सुनिश्चित भइसकेका छन्। निर्धारित समयभित्र स्टल बाँडफाँट सम्पन्न भए पनि केही कम्पनीबाट अझै सहभागिताका लागि अनुरोध आइरहेको भन्दै उपलब्ध स्थान र सम्भावनाको मूल्याङ्कन गरी विशेषगरी नाइमाका सदस्य कम्पनीलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने प्रयास गरिने जानकारी दिइन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आयोजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँट सम्पन्न हुनु उद्योग क्षेत्रको बढ्दो विश्वास र आकर्षणको संकेत भएको बताए। उनले एक्स्पोलाई नेपालकै सबैभन्दा ठूलो तथा प्रभावकारी मोबिलिटी प्रदर्शनीका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी अनुभव प्रदान गर्ने लक्ष्य रहेको बताए।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले स्टल बाँडफाँट प्रक्रिया पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र पूर्वनिर्धारित मापदण्डअनुसार सम्पन्न गरिएको बताए। उनले नेपालका अधिकांश प्रमुख सवारीसाधन ब्रान्डहरूको सहभागितासहित एक्स्पोको तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए।
सहभागी चारपांग्रे ब्रान्ड
ARCFOX, BAIC, BYD, Citroen, Denza, Forthing, Great Wall Motors, Henrey Volts, Honri Boma, Hyundai, iCAUR, Kaiyi, KIA, Leapmotor, Mahindra, Maxus, MG (GO Automobiles), MG (Paramount Motors), Nissan, Omoda & Jaecoo, Peugeot, Proton, TATA, Toyota, Wuling र Zeekr।
सहभागी दुईपांग्रे ब्रान्ड
Ather, Bajaj, CFMOTO/ZEEHO, Garrow, Honda, Keren, KTM, Morbidelli, NIU, Peugeot & BGAUSS, Royal Enfield, Suzuki, Triumph, TVS, Ultraviolette, Yadea तथा ZX MOTO/CX Motorcycles।
सहभागी व्यावसायिक सवारी ब्रान्ड
Chery Wanda, Karry, Keyton र Skyworth।
नाइमाका अनुसार एक्स्पोमा सवारीसाधन, मोबिलिटी समाधान, अत्याधुनिक प्रविधि तथा नवीनतम आविष्कारहरूको प्रदर्शन गरिनेछ। साथै नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शनी र ज्ञानमूलक सत्रहरू पनि आयोजना गरिनेछन्।
उपभोक्ता, व्यवसायी तथा उद्योगसँग सम्बन्धित सरोकारवालालाई एउटै मञ्चमा ल्याएर नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे जानकारी दिने उद्देश्यसहित आयोजना हुन लागेको एक्स्पोको व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गर्नेछ। डिजिपल सोलुसन्स डिजिटल मिडिया साझेदार तथा प्रोफिट मिडिया मोबिलिटी प्रकाशन साझेदारका रूपमा रहनेछन्।

आर्थिकन्यूज
प्रतिक्रिया