शीर्षकहरू

सानिमा जिआईसी इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर पारित

सानिमा जिआईसी इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर पारित

काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिक साधारणसभा आज काठमाडौँस्थित नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष क्याप्टेन कुनाल कयालले गरेका थिए।

सभाले सञ्चालक समितिबाट प्रस्ताव गरिएको हाल कायम चुक्ता पुँजी २ अर्ब १५ करोडमा ५ प्रतिशतका दरले १० करोड ७५ लाख बराबरको बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

त्यस्तै, सातौँ वार्षिक साधारण सभाबाट पारित १७ प्रतिशत हकप्रद सेयरअनुसार जारी हुने ३६ लाख ५५ हजार कित्ता सेयरलाई समावेश गर्दै बोनस सेयर जारीपछिको चुक्ता पुँजीसम्बन्धी विवरण पुनरावलोकन गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गरिएको छ।

त्यसैगरी, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, अभिलेख तथा नियामक निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक परिवर्तन गर्न समेत सञ्चालक समितिलाई अख्तियारी दिइएको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीले नेपाल वित्तीय प्रतिवेदन मानक अनुसार तयार गरिएको वित्तीय विवरण पेश गरेको जनाएको छ। उक्त वित्तीय विवरण सभाले सर्वसम्मत रूपमा पारित गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीको वार्षिक लेखापरीक्षकमा आर.एस.एम. एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने सञ्चालक समितिको प्रस्ताव पनि सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

सभामा अध्यक्ष कयालले कम्पनीले आगामी दिनमा सेवा गुणस्तर सुधार, व्यवसाय विस्तार र ग्राहक सन्तुष्टिमा केन्द्रित भई देशको अर्थतन्त्रमा अझ सशक्त योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया