काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा रासायनिक मल खरिद तथा आपूर्तिका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि र किसानलाई समयमै मल उपलब्ध गराउने लक्ष्यसहित मलतर्फको बजेट बढाइएको जानकारी दिए।
गत आर्थिक वर्ष २०८२/०८३ मा रासायनिक मल अनुदान तथा आपूर्तिका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरिएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा ३ अर्ब ६४ करोड रुपैयाँले बढी हो।
सरकारले कृषि क्षेत्रको उत्पादनशीलता बढाउन, किसानले बाली लगाउने समयमा मल अभावको समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले मल खरिद तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने जनाएको छ। बजेटमार्फत रासायनिक मलको सहज, व्यवस्थित र समयमै आपूर्ति सुनिश्चित गर्ने नीति अघि सारिएको छ।
कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले मल आपूर्तिमा देखिँदै आएको समस्या समाधानका लागि बजेट वृद्धि गरेको बताएको छ। यसबाट किसानलाई राहत पुग्ने तथा कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया