शीर्षकहरू

सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित शैक्षिक कार्यक्रम सुरु

सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित शैक्षिक कार्यक्रम सुरु

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) र बिजनेस इन्टेलिजेन्स (बीआई) को प्रयोग तीव्र रूपमा बढिरहेका बेला सनवे कलेजले नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ।

कलेजले एआई, बीआई तथा डिजिटल प्रणालीसँग सम्बन्धित बीएस्सी (अन्स) बिजनेस इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) नामक नयाँ शैक्षिक कार्यक्रम सुरु गरेको हो। वर्तमान समयको मागअनुसार सुरु गरिएको उक्त स्नातक तहको कार्यक्रम सूचना प्रविधि र व्यवस्थापन शिक्षाको संयोजनमा आधारित रहेको कलेजले जनाएको छ। कार्यक्रममा एआई, डेटा विश्लेषण, बिजनेस इन्टेलिजेन्स तथा डिजिटल व्यवसाय प्रणालीमा विशेष जोड दिइएको बताइएको छ।

व्यवसायिक निर्णय प्रक्रियामा डेटा र प्रविधिको प्रयोग बढ्दै गएका कारण प्रविधि तथा व्यवस्थापन दुवै क्षेत्रमा समान बुझाइ भएका जनशक्तिको माग बढिरहेको सन्दर्भमा यो कार्यक्रम ल्याइएको कलेजले जनाएको छ। सनवेका अनुसार कक्षा १२ उत्तीर्ण गरेपछि व्यवस्थापन वा सूचना प्रविधिमध्ये कुन विषय रोज्ने भन्ने अन्योलमा रहेका विद्यार्थीलाई दुवै क्षेत्रको ज्ञान एउटै पाठ्यक्रममार्फत प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

कार्यक्रमबारे जानकारी दिँदै कलेजका प्रिन्सिपल कुशल रेग्मीले अहिलेको व्यवसायिक परिवेशमा प्रविधि र व्यवस्थापनलाई अलग–अलग रूपमा बुझेर मात्र पर्याप्त नहुने बताए। उनका अनुसार नेपाल तथा विश्वव्यापी रूपमा एआई, डेटा र बिजनेस इन्टेलिजेन्सको प्रयोगमार्फत रणनीतिक निर्णय लिन सक्ने जनशक्तिको आवश्यकता बढ्दै गएको छ।

नयाँ पाठ्यक्रममा बिजनेस इन्टेलिजेन्स एन्ड डेटा एनालिटिक्स, व्यवसायमा एआईको प्रयोग, डिजिटल व्यवसाय रणनीति, टेक्नोलोजी तथा वित्तीय व्यवस्थापनलगायतका विषय समावेश गरिएको छ। कार्यक्रम उद्योगको आवश्यकता तथा रोजगारी बजारलाई ध्यानमा राखेर तयार गरिएको कलेजले जनाएको छ।

यसैबीच, कलेजले विद्यार्थी तथा युवा उद्यमीलाई लक्षित गर्दै स्टार्टअप इन्क्युबेशन कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। उक्त कार्यक्रममार्फत व्यवसायिक अवधारणालाई परिष्कृत गर्ने, उद्यममा रूपान्तरण गर्ने तथा बजारसम्म पुर्‍याउन सहयोग प्रदान गरिँदै आएको बताइएको छ।

कलेजले हालै स्थापना गरेको एआई इनोभेसन सेन्टरमार्फत कृत्रिम बुद्धिमत्तासम्बन्धी अनुसन्धान, प्रयोगात्मक सिकाइ तथा नवप्रवर्तनका गतिविधिहरू पनि सञ्चालन भइरहेको जनाएको छ। यसले विद्यार्थीलाई वास्तविक समस्याको समाधानमा आधारित प्रविधि प्रयोग गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रिन्सिपल रेग्मीका अनुसार कार्यक्रम पूरा गरेका विद्यार्थीहरूले बिजनेस इन्टेलिजेन्स विश्लेषक, एआई व्यवसाय परामर्शदाता, डिजिटल उद्यमी, डेटा तथा प्रणाली व्यवस्थापकलगायत विभिन्न क्षेत्रमा करियर विकास गर्न सक्नेछन्।

उक्त कार्यक्रमका लागि भर्ना प्रक्रिया सुरु भइसकेको कलेजले जनाएको छ। प्रारम्भिक चरणमा सीमित संख्याका मेधावी विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ। यो शैक्षिक कार्यक्रम बेलायतस्थित Birmingham City University सँग सम्बन्धित रहेको कलेजले जानकारी दिएको छ।

प्रतिक्रिया