शीर्षकहरू

टेम्पो भीरबाट खसालिएको घटनामा छानबिन समिति गठन, सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

टेम्पो भीरबाट खसालिएको घटनामा छानबिन समिति गठन, सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले उच्चस्तरीय समिति गठन गरेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज बिष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। मन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।

गत जेठ २९ गते वन अतिक्रमण हटाउने अभियानका क्रममा वन कर्मचारीहरूले एउटा टेम्पोलाई भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा र आलोचना बटुलेको थियो। भिडियो सार्वजनिक भएसँगै मानव अधिकार, कानुनी प्रक्रिया तथा राज्य संयन्त्रको कार्यशैलीबारे प्रश्न उठेका थिए।

मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै निष्पक्ष छानबिनमार्फत वास्तविकता बाहिर ल्याइने र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

यसैबीच घटनाको अनुसन्धानका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। छानबिन समितिको प्रतिवेदनपछि घटनामा संलग्न व्यक्तिहरूमाथि थप कारबाही प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया