शीर्षकहरू

प्रतिनिधिसभामा चिया निर्यातदेखि साइबर सुरक्षासम्मका विषय उठे

हात्ती आतंक, सीमा विवाद, यार्सागुम्बा संकट, वैदेशिक रोजगारी र साइबर बुलिङ नियन्त्रणमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभामा चिया निर्यातदेखि साइबर सुरक्षासम्मका विषय उठे

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले चिया निर्यातमा देखिएको अवरोध, जङ्गली हात्तीको बढ्दो आक्रमण, साइबर सुरक्षा, सीमा विवाद, वैदेशिक रोजगारी, यार्सागुम्बा संरक्षण तथा विकास आयोजनाबाट उत्पन्न वातावरणीय असरलगायत विविध समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद नरेन्द्रकुमार केरुङले पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा भारतीय पक्षले अवरोध सिर्जना गर्दा चिया उद्योग संकटमा परेको बताए। उनले चिया निर्यात प्रभावित हुँदा उद्योग बन्द हुने जोखिम बढेको, श्रमिकले रोजगारी गुमाउने अवस्था सिर्जना भएको र उत्पादित चिया खेर जाने स्थिति देखिएको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल तीव्र बनाउनुपर्ने माग गरे।

झापाको मेचीनगर क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएको विषय उठाउँदै सांसद निशा डाँगीले स्थानीय बासिन्दा त्रसित बनेको बताइन्। उनले हालै मेचीनगरकी पद्मा पौडेलमाथि हात्तीले आक्रमण गरेको र तीन बिघा मकैबाली नष्ट गरेको उदाहरण दिँदै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताइन्।

सांसद इन्दिरा रानामगरले पनि जङ्गली हात्तीका कारण जनधनको क्षति बढ्दै गएको उल्लेख गर्दै पूर्वसूचना प्रणाली विकास, प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षा तथा हात्ती व्यवस्थापनका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको बताइन्।

सांसद आशिका तामाङले नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराइन्। गण्डक नदीले धार परिवर्तन गरेसँगै सीमा निर्धारण जटिल बन्दै गएको उल्लेख गर्दै उनले आवश्यक अध्ययन र कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न आग्रह गरिन्।

सांसद सिर्जना श्रेष्ठले पछिल्लो समय बढ्दै गएको साइबर बुलिङ तथा साइबर अपराधप्रति चिन्ता व्यक्त गर्दै साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन्। उनले साइबर अपराधविरुद्ध जनचेतना अभिवृद्धि र विद्यालय तथा समुदायस्तरमा साइबर सुरक्षा शिक्षाको विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइन्।

सांसद रचना खतिवडाले जेनजी आन्दोलनसँग सम्बन्धित झुटा मुद्दाहरू खारेज गर्न सरकारसँग माग गरिन्। यस्तै सांसद निराशा चौधरी (डगौरा) ले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार तथा संरक्षणका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने बताइन्।

सांसद धनबहादुर बुढाले कर्णाली प्रदेशको प्रमुख आम्दानीको स्रोत मानिने यार्सागुम्बा संकटमा परेको विषय उठाए। जलवायु परिवर्तन, अव्यवस्थित सङ्कलन तथा प्राकृतिक स्रोतको दोहनका कारण यार्सागुम्बाको उत्पादन घट्दै गएको र यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर पारिरहेको उनको भनाइ थियो।

विकास आयोजना र वातावरणीय सन्तुलनको विषय उठाउँदै सांसद प्रकाशसिंह कार्कीले सोलुखुम्बुको लिपुखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाका कारण डुबानको जोखिम बढेको तथा स्थानीय खानेपानीका मुहान सुक्ने समस्या देखिएको बताए। उनले विकास र वातावरणबीच सन्तुलन कायम गर्दै आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिए।

कैलालीको गोदावरी नगरपालिका–४ मा डिभिजन वन कार्यालयका कर्मचारीलाई भीरबाट धकेलिएको घटनाप्रति सांसद बलावती शर्मा, अम्बिकादेवी सङ्ग्रौला र खड्कबहादुर बुढाले गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरे।

बैठकको आकस्मिक समयमा सांसद खेमराज कोइराला, यसोदाकुमारी बराल, खड्कबहादुर शाही, भरतकुमार स्वार, गङ्गादेवी श्रेष्ठ तथा ऐनबहादुर महरले पनि आ–आफ्ना क्षेत्रका विभिन्न समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिनिधिसभाको आकस्मिक समयमा उठेका विषयहरूले कृषि, व्यापार, वातावरण, सुरक्षा, रोजगारी र सीमा व्यवस्थापनजस्ता जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरू अझै पनि नीति निर्माणको केन्द्रमा रहेको संकेत गरेका छन्।

प्रतिक्रिया