शीर्षकहरू

मुद्दती निक्षेपमा ७ अर्ब रुपैयाँ लगानी गर्न राष्ट्र बैंकको प्रस्ताव आह्वान

मुद्दती निक्षेपमा ७ अर्ब रुपैयाँ लगानी गर्न राष्ट्र बैंकको प्रस्ताव आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ७ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्न प्रस्ताव आह्वान गरेको छ।

बैंकले ‘अनुसूची–१’ अनुसार तोकिएका शर्त पूरा गरेका वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूबाट ३६६ दिन अवधिको मुद्दती निक्षेपका लागि ब्याजदर प्रस्ताव माग गरेको हो। कुल लगानीयोग्य रकम ७ अर्ब रुपैयाँ रहेको छ।

यसअन्तर्गत ‘क’ वर्गका वाणिज्य बैंकमा ५ अर्ब ६० करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा १ अर्ब ५ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ३५ करोड रुपैयाँसम्म लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।

लगानीका लागि बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा ८ प्रतिशतभन्दा कम तथा खुद निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा कम रहेको हुनुपर्ने शर्त तोकिएको छ।

त्यसैगरी तरलता अनुपात, कर्जा–निक्षेप अनुपात, नाफामा रहेको स्थिति तथा नियामकीय कारबाहीबाट फुकुवा भएको समयसीमा पूरा भएको जस्ता मापदण्ड पनि अनिवार्य गरिएको छ।

प्रस्ताव पेस गर्ने अन्तिम मिति २०८३ असार ३ गते साँझ ७ बजेसम्म तोकिएको छ। प्रस्ताव pdf फारममा स्क्यान गरी पासवर्ड–प्रोटेक्टेड फाइलको रूपमा [email protected] मा इमेलमार्फत पठाउनुपर्नेछ।

राष्ट्र बैंकले पासवर्ड सोही फाइलका लागि छुट्टै इमेलमार्फत २०८३ असार ४ गते बिहान १० बजेसम्म पठाउन आग्रह गरेको छ।

ब्याजदर प्रस्ताव लगानी गरिने मितिसम्म मान्य हुने र अन्य बैंकको ब्याजदर परिवर्तनले प्रस्तावित दरमा असर नगर्ने स्पष्ट गरिएको छ।

प्रतिक्रिया