काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिन्याकल इन्टरनेसनल अवार्ड २०२६ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तन (Business Model Innovation) विधामा प्ल्याटिनम विजेताको उच्च सम्मान प्राप्त गरेको छ।
बैंकले ग्राहक पहिचान तथा अनुपालन (KYC Compliance) प्रक्रियामा लागू गरेको डिजिटल तथा प्रविधिमैत्री प्रणालीका लागि उक्त अवार्ड प्रदान गरिएको हो। ग्राहक पहिचान कार्यप्रवाहलाई छरितो, सुरक्षित र प्रभावकारी बनाउँदै नियामकीय मापदण्डहरूको कडाइका साथ पालना सुनिश्चित गर्ने नवप्रवर्तनात्मक अभ्यासलाई अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट मानिएको बैंकले जनाएको छ।
इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूमा वित्तीय प्रविधि, नवप्रवर्तन र रूपान्तरणका उत्कृष्ट अभ्यास पहिचान तथा सम्मान गर्न सञ्चालन हुँदै आएको हो। यस वर्ष ९ विधामा ५०० भन्दा बढी आवेदन प्राप्त भएकोमा कुमारी बैंकले प्ल्याटिनम श्रेणीमा स्थान बनाउन सफल भएको हो।
बैंकका अनुसार नयाँ प्रणालीमार्फत KYC प्रक्रियामा डिजिटल समाधानको प्रयोग बढाइएको छ, जसले ग्राहक पहिचान प्रक्रिया मात्र होइन, सम्पूर्ण अनुपालन व्यवस्थालाई समेत अझ व्यवस्थित बनाएको छ। यसले सेवा प्रवाहलाई पारदर्शी, छिटो र विश्वसनीय बनाउनुका साथै कागजी प्रक्रिया घटाउन समेत सहयोग पुगेको बैंकको भनाइ छ।
अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमा आधारित सुरक्षित र ग्राहककेन्द्रित बैंकिङ सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको छ। बैंकले आगामी दिनमा डिजिटल बैंकिङ समाधान विस्तार गर्दै सेवा गुणस्तर अझ सुदृढ बनाउने जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया