काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक कार्यालय सामग्री तथा सडक सुरक्षा उपकरण सहयोग गरेको छ।
बैंकले समुदायको सुरक्षा, सुशासन र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।
यसअन्तर्गत बैंकले नेपाल प्रहरी अन्तर्गतका विभिन्न कार्यालयलाई कम्प्युटर, फर्निचर तथा कार्यालय सञ्चालनमा आवश्यक सामग्री हस्तान्तरण गरेको छ। सहयोग प्राप्त गर्ने कार्यालयहरूमा जिल्ला प्रहरी कार्यालय घोराही–दाङ, जिल्ला प्रहरी कार्यालय धादिङ, बाँकेको साईगाउँ प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालय काँकडभिट्टा–झापा रहेका छन्।
त्यसैगरी ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ट्राफिक जिल्ला प्रहरी कार्यालय बर्दिया, गुलरियालाई रोड डिभाइडर तथा सचेतनामूलक बोर्डसमेत उपलब्ध गराइएको बैंकले जनाएको छ।
बैंकका अनुसार उक्त सहयोगले प्रहरी कार्यालयहरूको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई थप व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
मुक्तिनाथ विकास बैंकले स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकका अनुसार सामाजिक विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
बैंकले दिगो सामाजिक विकास तथा स्थानीय समुदायको सशक्तीकरणलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, वातावरण, वित्तीय साक्षरता तथा सामुदायिक विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आर्थिकन्यूज
प्रतिक्रिया