शीर्षकहरू

डिशहोममार्फत फिफा विश्वकप २०२६ प्रत्यक्ष हेर्न सकिने, मोबाइलदेखि टिभीसम्मका लागि विभिन्न पास उपलब्ध

डिशहोममार्फत फिफा विश्वकप २०२६ प्रत्यक्ष हेर्न सकिने, मोबाइलदेखि टिभीसम्मका लागि विभिन्न पास उपलब्ध

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी रहँदा डिशहोमले नेपाली दर्शकका लागि मोबाइल र टेलिभिजन दुवै माध्यमबाट प्रत्यक्ष प्रसारण हेर्ने सुविधा उपलब्ध गराएको छ।

फुटबल समर्थकहरूको आवश्यकता र हेर्ने शैलीलाई लक्षित गर्दै डिशहोमले आफ्नो डिजिटल प्लेटफर्म डिगो एप, साथै डीटीएच र आईपी टिभी सेवामार्फत विभिन्न विश्वकप पास सार्वजनिक गरेको छ। घरमै ठूलो स्क्रिनमा खेल हेर्न चाहनेदेखि मोबाइलमार्फत जहाँसुकै खेलको मज्जा लिन चाहने दर्शकका लागि फरक–फरक विकल्प उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

नेपालभित्र इन्टरनेटमार्फत सञ्चालन हुने डिगो एपबाट दर्शकहरूले मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमा विश्वकपका खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन्। मोबाइल प्रयोगकर्ताका लागि रु. ५४९ को मोबाइल पास उपलब्ध छ, जसबाट एउटै खातामार्फत मोबाइल वा ट्याब्लेटमा खेल हेर्न सकिनेछ।

त्यस्तै, रु. ९९९ को डिगो सिजन पासमार्फत दुईवटा उपकरणमा एकैसाथ स्ट्रिमिङ गर्न सकिने व्यवस्था गरिएको छ। यो पास प्रयोगकर्ताले मोबाइल, ट्याब्लेट, ल्यापटप वा एन्ड्रोइड टेलिभिजनमध्ये कुनै पनि दुई उपकरणमा प्रयोग गर्न सक्नेछन्।

ठूलो स्क्रिनमा परिवार तथा साथीभाइसँग विश्वकप हेर्न चाहने दर्शकका लागि डिशहोमले रु. ९९९ कै टेलिभिजन सिजन पास पनि उपलब्ध गराएको छ। उक्त पासमार्फत डिशहोम डीटीएच एचडी सेट–टप बक्स तथा आईपी टिभी सेट–टप बक्समा फुल एचडी गुणस्तरमा सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सकिने कम्पनीले जनाएको छ। यसका लागि सक्रिय नियमित सदस्यता भने अनिवार्य हुनेछ।

कम्पनीले डिगो सिजन पास र टेलिभिजन सिजन पास फरक सेवा भएकाले ग्राहकले आफ्नो आवश्यकता अनुसार छनोट गर्नुपर्ने स्पष्ट पारेको छ। एन्ड्रोइड टेलिभिजन प्रयोगकर्ताले डिगो एपमार्फत प्रत्यक्ष खेल हेर्न सक्ने भए पनि डीटीएच वा आईपी टिभी सेट–टप बक्समार्फत प्रसारण हेर्न चाहनेले छुट्टै टेलिभिजन सिजन पास खरिद गर्नुपर्नेछ।

यस्तै, घरमा टेलिभिजनमार्फत र बाहिर रहँदा मोबाइल वा अन्य डिजिटल उपकरणमार्फत विश्वकप हेर्न चाहने ग्राहकले डिगो सिजन पास र टेलिभिजन सिजन पास दुवै खरिद गर्नुपर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

डिशहोमका अनुसार विश्वकप पासहरू खल्ती, ईसेवा, कनेक्ट आईपीएस, ग्लोबल आइएमई मोबाइल बैंकिङ तथा अन्य डिजिटल भुक्तानी माध्यममार्फत सहज रूपमा खरिद गर्न सकिनेछ। कम्पनीले विश्वकपका कुनै पनि महत्वपूर्ण खेल नछुटाउन दर्शकलाई समयमै आफूलाई उपयुक्त पास छनोट गर्न आग्रह गरेको छ।

प्रतिक्रिया