काठमाडौं । नेपालका प्रमुख निर्यातयोग्य वस्तुमध्ये एक चिया उद्योग हाल भारततर्फ निर्यातमा देखिएको अवरोधका कारण गम्भीर संकटमा परेको भन्दै सरोकारवालाले सरकारको तत्काल कूटनीतिक पहल आवश्यक भएको बताएका छन्।
नेपाल–भारत व्यापारमा देखिँदै आएको गैर–भन्सार अवरोधका कारण नेपाली चिया निर्यातमा पछिल्ला दिनमा जटिलता बढेको उद्योगी तथा सरोकारवालाको भनाइ छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर तथा प्रत्येक खेपमा अनिवार्य प्रयोगशाला परीक्षण जस्ता कडाइका कारण निर्यात प्रक्रिया अत्यन्त झन्झटिलो बनेको उल्लेख गरिएको छ।
यसका कारण पूर्वी नेपालका प्रमुख चिया उत्पादक उद्योगहरू प्रभावित बनेका छन्। उद्योगीहरूको भनाइअनुसार डेढ महिनादेखि निर्यात ठप्प हुँदा उत्पादित चिया गोदाममै थन्किने र बिग्रने जोखिम बढेको छ, जसले किसान, श्रमिक तथा उद्योग सबैलाई प्रत्यक्ष असर पारेको छ।
चिया उद्योगीहरूले बारम्बार निर्यात अवरोध सिर्जना हुँदा रोजगारी, लगानी र राष्ट्रिय निर्यात व्यापारमा दीर्घकालीन क्षति पुग्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनीहरूले कूटनीतिक स्तरमा तत्काल संवाद अघि बढाउन, तथा व्यापार सहजीकरणका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरेका छन्।
सरोकारवालाहरूले नेपाल–भारत संयुक्त व्यापार संयन्त्रमार्फत निर्यात प्रक्रिया सहज बनाउन उच्चस्तरीय संवाद आवश्यक रहेको बताएका छन्। साथै, नेपाली चियाको गुणस्तर परीक्षण प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार मान्यता दिलाउन र व्यापार अवरोध हटाउन पहल गर्नुपर्ने माग गरिएको छ।
उद्योगीहरूको भनाइअनुसार हालको अवस्थाले हजारौँ किसानको आम्दानी, उद्योगको उत्पादन क्षमता र निर्यात बजारमा गम्भीर असर पारेको छ। निर्यात रोकिँदा उत्पादन लागत बढ्ने र बजार गुम्ने जोखिमसमेत देखिएको उनीहरूको चेतावनी छ।
सरोकारवालाले दीर्घकालीन समाधानका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा वाणिज्य मन्त्रालयबीच समन्वय गरी भारतसँग औपचारिक कूटनीतिक संवाद अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया