काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सेवा लिने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम मागिएमा प्रमाणसहित हटलाइन नम्बर ११५१ मा उजुरी गर्न सेवाग्राहीलाई आग्रह गरेको छ।
मन्त्रालयका अनुसार सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै गुनासो सुनुवाइ प्रणालीलाई थप प्रभावकारी बनाइएको छ। यसका लागि सञ्चालनमा रहेको हटलाइन ११५१ लाई थप सक्रिय बनाइएको मन्त्रालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार ग्रहण गरेयता मन्त्रालयले गुनासो व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राख्दै तत्काल समाधान गर्ने प्रणाली लागू गरिएको जनाएको छ।
मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठले चैत १३ गते कार्यभार सम्हालेयता हालसम्म हटलाइनमार्फत प्राप्त १३ हजार ८८ वटा गुनासो सम्बोधन गरिएको छ। तीमध्ये अधिकांश गुनासो विद्युत् सेवा प्रवाहसँग सम्बन्धित रहेका छन्।
प्राप्त गुनासोमा विद्युत् अवरोध (नो लाइट), ट्रान्सफर्मर बिग्रिएको, पोल तथा मिटर अभाव, भूमिगत विद्युत् जडान ढिलाइ लगायतका समस्या प्रमुख रूपमा रहेका छन्। मन्त्रालयले यस्ता समस्याको तत्काल समाधान गर्दै सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउने प्रयास भइरहेको जनाएको छ।
त्यस्तै, संघीय संसद् र प्रदेश सभाका सदस्यहरूले शून्य तथा विशेष समयमा उठाउने ऊर्जा तथा विद्युत् सम्बन्धी गुनासोसमेत तत्काल सम्बोधन गर्ने व्यवस्था गरिएको छ।
सुशासन प्रवर्द्धनका लागि मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार ‘सुशासन एकाइ’ गठन गरी सञ्चालनमा ल्याएको छ। उक्त एकाइलाई अनुगमन, मूल्यांकन तथा कार्यसम्पादन परीक्षणको जिम्मेवारी दिइएको छ।
एकाइले मन्त्रालय र मातहतका निकायका कर्मचारीको कार्यसम्पादन, सेवा प्रवाह, कानुनी समयसीमाको पालना तथा स्रोत–साधनको उपयोग नियमित रूपमा अनुगमन गरिरहेको छ।
मन्त्रालयले ‘डेलिभरी–आधारित शासन प्रणाली’ लागू गर्दै सेवा प्रवाहमा सुधार, गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा कर्मचारीलाई जवाफदेही बनाउने नीति अघि बढाएको जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया