शीर्षकहरू

भारतीय अवरोधले चिया उद्योग संकटमा, इलामका सबै उद्योग बन्द; झापामा पनि बन्दको चेतावनी

भारतको नयाँ एसओपीका कारण डेढ महिनादेखि निर्यात प्रभावित, संसदमा पनि उठ्यो विषय

भारतीय अवरोधले चिया उद्योग संकटमा, इलामका सबै उद्योग बन्द; झापामा पनि बन्दको चेतावनी

काठमाडौं । भारतीय पक्षले नेपाली चियाको निकासीमा गुणस्तर परीक्षणको नाममा अवरोध सिर्जना गरेपछि पूर्वी नेपालका चिया उद्योग गम्भीर संकटमा परेका छन्। निर्यात ठप्प हुँदा उत्पादित चियाले बजार नपाएपछि इलामका सबै अर्थोडक्स चिया उद्योग सोमबारदेखि बन्द भएका छन् भने झापाका सीटीसी चिया उद्योग पनि केही दिनभित्र बन्द हुने अवस्थामा पुगेका छन्।

नेपाल चिया उत्पादक संघका अनुसार भारतले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यात प्रक्रिया जटिल बनेको छ। भारतीय भन्सारमा चियाको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाउने र प्रतिवेदन आउन १५ देखि २० दिनसम्म लाग्ने व्यवस्थाले भारतीय आयातकर्ताहरू नेपाली चिया खरिद गर्न अनिच्छुक बनेका छन्।

संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतीय चिया बोर्डको नीतिका कारण नेपाली चियाको प्रमुख बजार नै प्रभावित भएको बताए। उनका अनुसार भारतीय आयातकर्ताहरू परीक्षण प्रक्रियाको अनिश्चितता र सम्भावित जोखिमका कारण नेपाली चिया खरिदबाट पछि हटेका छन्। त्यसको प्रत्यक्ष असर उद्योग, किसान र मजदुरमाथि परेको छ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार सोमबारदेखि इलामका ५६ वटै अर्थोडक्स चिया उद्योग बन्द गरिएका छन्। झापाका ३० वटा सीटीसी चिया उद्योग पनि केही दिनभित्र बन्द गर्ने तयारी गरिएको छ। उद्योगहरू बन्द हुँदा हजारौं मजदुर तथा चिया किसान प्रत्यक्ष प्रभावित भएका छन्।

उद्योगीहरूका अनुसार भारततर्फ निर्यात हुन नसक्दा करिब १० लाख किलोभन्दा बढी तयारी चिया उद्योगमै थन्किएको छ भने भारत पुगेको झन्डै २ लाख किलो चिया भारतीय आयातकर्ताको गोदाममै रोकिएको छ। लामो समयसम्म भण्डारण हुँदा चिया बिग्रिने र ठूलो आर्थिक क्षति हुने जोखिम बढेको उनीहरूको भनाइ छ।

नेपालको चिया उद्योग भारतीय बजारमा अत्यधिक निर्भर छ। इलाममा वार्षिक करिब ६५ लाख किलो र झापामा करिब २ करोड किलो चिया उत्पादन हुने गरेको छ। उत्पादित चियाको झन्डै ९० प्रतिशत भारत निर्यात हुँदै आएको उद्योगीहरू बताउँछन्।

चिया उद्योगमा देखिएको संकट सोमबार प्रतिनिधिसभामा पनि उठेको छ। सांसद नरेन्द्रकुमार केरुङले भारतीय पक्षको अवरोधका कारण चिया उद्योग बन्द हुने अवस्था आएको भन्दै सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरे। उनले उद्योग बन्द हुँदा श्रमिकको रोजगारी गुम्ने र उत्पादित चिया खेर जाने अवस्था सिर्जना भएको बताए।

उद्योगीहरूले सरकारले समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको गुनासो गरेका छन्। निर्यात सहजीकरणका लागि आवश्यक कूटनीतिक पहल नभएको भन्दै उनीहरूले आन्दोलनका कार्यक्रमसमेत घोषणा गर्ने तयारी गरेका छन्। उद्योगीहरूका अनुसार चिया किसान, मजदुर र व्यवसायीको संयुक्त दबाब सिर्जना गर्न काँकरभिट्टा नाकामा आन्दोलन तथा भारतीय वस्तुको प्रवेश रोक्ने लगायतका कार्यक्रमबारे छलफल भइरहेको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म नेपालबाट ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको ११ हजार ४ सय टन चिया निर्यात भएको छ। गत आर्थिक वर्ष सोही अवधिमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको १५ हजार ६ सय टन चिया निर्यात भएको थियो। तथ्यांकले पनि चिया निर्यातमा उल्लेखनीय गिरावट देखाएको छ।

उद्योगीहरूले भारतीय अवरोध दीर्घकालीन रूपमा समाधान नभए नेपाली चिया उद्योग, किसान र श्रमिकको जीविकामाथि गम्भीर असर पर्ने चेतावनी दिएका छन्। उनीहरूले तत्काल उच्चस्तरीय कूटनीतिक पहलमार्फत नेपाली चियाको निर्यात सहज बनाउन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया