शीर्षकहरू

सिटिजन्स सदाबहार योजनामा अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालन

सिटिजन्स सदाबहार योजनामा अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालन

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो खुलामुखी म्युचुअल फन्ड योजना ‘सिटिजन्स सदाबहार योजना’ अन्तर्गत लगानीकर्ताका लागि अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ।

योजना व्यवस्थापक तथा डिपोजिटरीको भूमिका निर्वाह गरिरहेको सिटिजन्स क्यापिटलले लगानीकर्तालाई थप सहज, छिटो र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यसहित उक्त प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त यस योजनामा आबद्ध तथा आबद्ध हुन इच्छुक लगानीकर्ताले अब डिजिटल माध्यमबाट योजनासम्बन्धी विभिन्न सेवा लिन सक्नेछन्। कम्पनीका अनुसार नयाँ प्रणालीले लगानी प्रक्रियालाई थप सरल, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

अनलाइन प्रणालीमार्फत लगानीकर्ताले एकमुष्ट (लम्पसम) लगानीका लागि आवेदन तथा भुक्तानी, व्यवस्थित लगानी योजना (एसआईपी) मा दर्ता, एसआईपी किस्ता भुक्तानी, लाभांश पुनःलगानी योजना (डीआरआईपी) मा आबद्धता तथा अनलाइन साइन–अप र लगइन सुविधा प्राप्त गर्न सक्नेछन्।

कम्पनीले यस प्रणालीमार्फत लगानीकर्ताले चौबीसै घण्टा र सातै दिन सेवा उपयोग गर्न सक्ने जनाएको छ। यसबाट कार्यालय समय वा भौगोलिक दूरीको सीमाबिना जहाँबाट पनि योजनासम्बन्धी सेवा लिन सकिने विश्वास कम्पनीको छ।

सिटिजन्स क्यापिटलले डिजिटल वित्तीय सेवाको विस्तार, लगानीकर्ताको पहुँच अभिवृद्धि तथा पुँजी बजारमा सहभागिता बढाउने रणनीतिअनुरूप यो प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। आगामी दिनमा पनि प्रविधिको प्रयोगमार्फत लगानीकर्तालाई थप नवीन, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

कम्पनीले ‘नेपालको प्रत्येक घरमा व्यवस्थित लगानीको पहुँच’ विस्तार गर्ने लक्ष्यसहित एसआईपीमार्फत लगानी संस्कृतिलाई थप पहुँचयोग्य, पारदर्शी र लगानीकर्तामैत्री बनाउने योजना अघि बढाएको जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा विभिन्न प्रतिष्ठित औद्योगिक–व्यावसायिक समूहको समेत लगानी रहेको छ। कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सविरबाबु श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया