काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत विवरण अनुसार खुद नाफा ९९.८४ प्रतिशतले घटेको छ ।
गत आवको ९ महिनामा कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा यस्तो नाफा ४ लाखमा सिमित भएको छ । यस अवधिमा कम्पनीको व्यापार भने सामान्य बढेपनि नाफामा ठूलो गिरावट आएको हो ।
पछिल्लो ९ महिनामा कम्पनीले २ अर्ब ६५ करोड रुपैयाँको व्यापार गरेको छ, गत वर्षको सोही अवधिमा २ अर्ब ५३ करोडको व्यापार गरेको थियो । यस अवधिमा कम्पनीको दाबी भुक्तानीमा भने ठूलो खर्च भएको छ । गत वर्षको ९ महिनामा ६१ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ४ करोड भुक्तानी गरेको छ । कम्पनीको महाविपत्ति कोषको आकार पनि सामान्य वृद्धि देखिएको छ । ९ करोड ५८ लाखबाट बढेर कोषमा ९ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले ४ अर्ब ६४ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । जसमध्ये ३ अर्ब रुपैयाँ अल्पकालीन लगानी र १ अर्ब ६४ करोड रुपैयाँ दीर्घकालिन लगानी गरेको छ ।
३ अर्ब बढी चुक्ता पूँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी ०.०२ रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमाससम्म प्रति शेयर आम्दानी ११.६७ रुपैयाँ थियो । प्रति शेयर नेटवर्थ १८२.७२ रुपैयाँ, प्रति शेयर सम्पत्ति मूल्य ४८३.२३ रुपैयाँ रहेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया