पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले बजेटमार्फत भौतिक पूर्वाधार निर्माण, आर्थिक गतिविधि विस्तार र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै कुल बजेटको ६० प्रतिशतभन्दा बढी हिस्सा पुँजीगत खर्चमा विनियोजन गरेको छ।
आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन ले बजेट प्रस्तुत गर्दै चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ र पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। वित्तीय व्यवस्थापनतर्फ थप २५ करोड रुपैयाँ छुट्याइएको छ।
कुल बजेटमध्ये चालु खर्चको हिस्सा ३८.५६ प्रतिशत र पुँजीगत खर्चको हिस्सा ६०.६८ प्रतिशत रहेको छ। प्रदेश सरकारले विकास निर्माण र पूर्वाधार आयोजनामा केन्द्रित बजेट ल्याएको भन्दै पुँजीगत खर्चलाई उच्च प्राथमिकता दिएको जनाएको छ।
बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँटलाई मुख्य आधार बनाइएको छ। बजेट वक्तव्यअनुसार वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
त्यस्तै, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख रुपैयाँ, सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख रुपैयाँ, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख रुपैयाँ तथा विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
प्रदेश सरकारले आन्तरिक स्रोत परिचालनलाई पनि बजेटको महत्वपूर्ण आधार बनाएको छ। आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनपछि प्रदेश सञ्चित कोषमा करिब २ अर्ब रुपैयाँ नगद मौज्दात रहने अनुमान गरिएको छ। त्यसका बाबजुद बजेट स्रोतमा देखिएको कमी पूर्ति गर्न प्रदेश सरकारले १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने योजना अघि सारेको छ।
प्रदेश सरकारले आगामी वर्ष आर्थिक गतिविधि विस्तार, पूर्वाधार निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ। पुँजीगत खर्चको उच्च हिस्सा विनियोजन गरिएकाले विकास निर्माणका आयोजनाको कार्यान्वयन क्षमतामाथि भने थप ध्यान केन्द्रित हुने देखिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया